काठमाडौं । छिमेकी मुलुक भारतको तेलङ्गाना राज्यमा अत्यधिक गर्मी र तातो हावाको लहर (लु) का कारण १६ जनाको मृत्यु भएको छ । केही दिनयता आक्रामक बनेको ‘हिटवेभ’ (तातो लहर) का कारण ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि राज्य सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
राज्यका राजस्व मन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले शनिबार एक पत्रकार सम्मेलनमार्फत ‘लु’ का कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको आधिकारिक पुष्टि गरेका हुन् ।
मन्त्री रेड्डीले शनिबार नै राज्यका उच्च प्रशासनिक अधिकारीहरूसँग आकस्मिक बैठक बसी हिटवेभका कारण सिर्जित गम्भीर अवस्था र राहतका उपायहरूबारे विस्तृत छलफल गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले विभिन्न जिल्लाका प्रमुख अधिकारी (कलेक्टर) हरूले पठाएको पछिल्लो प्रतिवेदनका आधारमा सबैभन्दा बढी क्षति जयशङ्कर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए । उक्त जिल्लामा मात्रै ४ जनाले गर्मीका कारण ज्यान गुमाएका छन्।
यसैगरी, वारङ्गल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३(३ जनाको मृत्यु भएको छ भने जोगुलाम्बा गडवाल, रङ्गा रेड्डी र सूर्यापेट जिल्लामा १–१ जनाको लुका कारण ज्यान गएको मन्त्री रेड्डीले स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार तेलङ्गानाका धेरैजसो क्षेत्रमा केही दिनदेखि तापक्रम अस्वाभाविक रूपमा बढेको छ । तातो हावाले जनजीवन अस्तव्यस्त बनाएपछि सरकारले दिउँसोको समयमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन र सचेत रहन अपिल गरेको छ ।
यसैबीच, तेलङ्गाना राज्य सरकारले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका प्रत्येक मृतकका आश्रित परिवारलाई राहत स्वरूप ४ लाख भारतीय रुपैयाँ (भारु) उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्री रेड्डीले पीडित परिवारलाई सरकारी राहत प्रक्रिया अविलम्ब पूरा गरी रकम हस्तान्तरण गर्न जिल्ला कलेक्टरहरूलाई निर्देशनसमेत दिएका छन् । भारतका विभिन्न राज्यहरूमा यतिबेला गर्मीले रेकर्ड तोडिरहेका बेला तेलङ्गानामा भएको यो मानवीय क्षतिले दक्षिण एसियाकै मौसमी चक्र र पर्यावरणमा आएको रैथाने संकटलाई थप उजागर गरेको छ।



