ढाका । बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । यो दशकौँयताकै सबैभन्दा घातक प्रकोप बनेको छ । शनिवार पनि मृत्यु सङ्ख्या बढिरह्यो । पछिल्लो २४ घण्टामा मात्रै १३ बालबालिकाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । मार्च १५ देखि सुरु गरिएको तथ्यांकअनुसार कुल मृतक सङ्ख्या ५१२ पुगेको छ ।
अहिले राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष ९आईसीयू० का पर्याप्त शय्या उपलब्ध छैनन् । दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जुन खोकी र हाछ्युँमार्फत फैलिन्छ । एकपटक सङ्क्रमण भएपछि यसको कुनै विशेष उपचार छैन ।
यो रोग मुख्यतः बालबालिकामा देखिन्छ र यसले विशेषगरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ । दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ ।
१७ करोड ५० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की बङ्गलादेश प्रमुख राना फ्लावर्सले यस साता उक्त अभियान मार्फत १ करोड ८० लाख बालबालिकासम्म पुगिएको बताइन् । तर स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ ।
युनिसेफले बुधबार जारी गरेको वक्तव्यमा सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलन र त्यसपछिको अव्यवस्थाका कारण खोप कार्यक्रम प्रभावित भएको उल्लेख गरेको छ । उक्त आन्दोलनले सरकारलाई सत्ताच्युत गरेको थियो र त्यसपछि ठुलो सङ्ख्यामा बालबालिका खोपबाट वञ्चित भएका थिए ।



