पर्सा । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महा नगरपालिका–१ छपकैया छटघाट स्थित श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा निस्शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरिएको छ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविर तिलगंगा आँखा अस्पताल काठमाडौं तथा सामुदायिक आँखा केन्द्र वीरगञ्जसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा सञ्चालन गरिएको थियो।
कार्यक्रम नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता भएको हो सामुदायिक आँखा केन्द्र वीरगञ्जबाट डा. मनोज पटेलसहितका तीन जना स्वास्थ्यकर्मीको टोलीले सहभागीहरूको आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा स्थानीय बासिन्दासहितको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल २११ जनाले निस्शुल्क आँखा परीक्षण सेवा लिएका थिए।
कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको विश्वास गरिएको छ। शसस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका सुचना अधिकारी शसस्त्र प्रहरी उपरीक्षक मोहन राज निरौला द्धारा जानकारी ।
