सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्बास्थित एक इँटा उद्योगमा काम गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय वीरेन्द्र चौधरी (कौडेना गाउँपालिका निवासी) द्वारा सञ्चालित ‘कृष्ण इँटा भट्टा’ मा हिजो (शुक्रबार) साँझ यो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार भट्टाभित्र पाकेको इँटा बाहिर निकाल्ने क्रममा अचानक माथिबाट माटो र इँटाको ठूलो ढिस्को खसेर मजदुर हरू पुरिएका थिए । ढिस्कोमा पुरिएर उद्योगमा कार्यरत सर्लाहीको गोडैता नगरपालिका–७ रामवन बस्ने ५० वर्षीय फिताइ मन्सुर, गोडैता–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर घर भएका ३५ वर्षीय अङ्गद कुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परी अन्य दुई जना मजदुर गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो रहेका छन् ।
घाइतेमध्ये तुलसीको प्रादेशिक अस्पताल मलङ्गवामा र सत्य नारायणको मजुर्बास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
घटना लगतै स्थानीयवासी र प्रहरीको टोलीले उद्योगमा पुगेर पुरिएका मजदुरहरूको उद्धार गरेको थियो । प्रहरीले यस घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।



