३१ वैशाख,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले स्वयं दिनुपर्ने अडान दोहोर्याएका छन्।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्री बाहेक अरूबाट जवाफ नस्वीकार्ने स्पष्ट धारणा राखे।
साम्पाङले प्रधानमन्त्री छलफलमा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै उत्तर दिने चरणमा भने अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताए। उनले भने, “उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेला उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छु।”
उनले प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी सदनबाट बाहिरिने चेतावनीसमेत दिए। “यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिन्छौं। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन,” उनले भने।
साम्पाङले आफ्नो भनाइलाई उदाहरणसहित प्रस्ट्याउँदै जिम्मेवारीको प्रत्यक्षता आवश्यक रहेको बताए। “आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन मिल्दैन,” भन्दै उनले प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्नेमा जोड दिए।
उनले “काग कराइरहन्छ, पिना सुक्दै गर्छ” भन्ने उखान उल्लेख गर्दै प्रक्रियागत ढिलासुस्ती र बेवास्ताप्रति पनि असन्तुष्टि व्यक्त गरे।



