३१ वैशाख,काठमाडौं । ओमानको तट नजिक बिहीबार भएको भारतीय व्यापारिक जहाजमाथिको आक्रमणप्रति भारतले कडा निन्दा गरेको छ। घटनालाई “अस्वीकार्य” भन्दै भारतले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच समुद्री मार्गको सुरक्षा र स्वतन्त्रताको संरक्षणमा जोड दिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले जारी गरेको विज्ञप्तिमा होर्मुज जलक्षेत्रमा व्यापारिक जहाजहरूलाई निरन्तर लक्षित गर्नु चिन्ताजनक भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा ओमानको तटमा भारतीय जहाजमा भएको आक्रमण अस्वीकार्य भएको बताउँदै व्यावसायिक ढुवानीलाई बारम्बार लक्षित गरिनु अन्तर्राष्ट्रिय नियमविपरीत भएको भारतको धारणा व्यक्त गरिएको छ।
ओमानी अधिकारीहरूको उद्धार प्रयासपछि जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको पुष्टि गरिएको छ। भारतले उद्धारमा संलग्न ओमानी अधिकारीहरूलाई धन्यवाद समेत दिएको छ।
भारतले होर्मुजको अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालन हुने समुद्री व्यापार मार्ग र नागरिक चालक दलको सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिएको छ। साथै, व्यावसायिक ढुवानीलाई लक्षित गर्ने र निर्दोष चालक दललाई जोखिममा पार्ने कार्य तत्काल रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ।
यसैबीच, खाडी क्षेत्रमा समुद्री सुरक्षा जोखिम बढिरहेको पृष्ठभूमिमा अर्को घटनामा संयुक्त अरब इमिरेट्स (यूएई) नजिक एक जहाज कब्जा भएको रिपोर्ट पनि सार्वजनिक भएको छ। बेलायतस्थित युके मेरिटाइम ट्रेड अपरेशन्स (UKMTO) ले फुजैराह नजिक ३८ नटिकल माइल क्षेत्रमा अनधिकृत व्यक्तिहरू जहाजमा चढेर इरानी जलक्षेत्रतर्फ लैजाने प्रयास भएको जानकारी दिएको छ।
उक्त घटनाको अनुसन्धान जारी रहेको बताइएको छ भने यस क्षेत्रबाट गुज्रने जहाजहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि संदिग्ध गतिविधि रिपोर्ट गर्न सुझाव दिइएको छ।



