३१ वैशाख,काठमाडौं । घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न तथा मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ।
विश्वका प्रमुख चिनी उत्पादक राष्ट्रहरूमध्ये एक भारतले सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यात रोक्ने निर्णय गरेको हो। बुधबार राति जारी सरकारी आदेशअनुसार यो प्रतिबन्ध ‘तत्काल प्रभाव’ बाट लागू गरिएको छ।
सरकारी आदेशमा सीमित अपवादबाहेक अधिकांश चिनी निर्यात रोकिएको उल्लेख छ। तर पहिले नै निर्यात प्रक्रियामा रहेका कन्साइनमेन्टलाई भने अनुमति दिइने तथा सरकारी खाद्य सुरक्षा सम्झौताअन्तर्गत हुने निर्यातमा छुट रहने स्पष्ट पारिएको छ।
यो निर्णय आगामी चिनी उत्पादन सिजनलाई लिएर बढ्दो अनिश्चितता र मौसमीय जोखिमका कारण गरिएको बताइएको छ। अक्टोबरदेखि सुरु हुने नयाँ उत्पादन चक्र एल निनो मौसमी प्रभावका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले औसतभन्दा कम मनसुनको सम्भावना औँल्याएपछि ऊखु उत्पादन घट्ने र त्यसले चिनी आपूर्तिमा दबाब सिर्जना गर्ने जोखिम देखिएको छ। चिनी भारतमा दैनिक उपभोग मात्र होइन, खाद्य उद्योगका लागि पनि महत्वपूर्ण कच्चा पदार्थ हो।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा भारतको निर्णयले मूल्यवृद्धि हुन सक्ने अनुमान गरिएको छ। भारत विश्व चिनी बजारको प्रमुख आपूर्तिकर्ता भएकाले यसको असर विश्वव्यापी आपूर्तिमा देखिन सक्ने विश्लेषण गरिएको छ।
सरकारी तथ्यांकअनुसार भारतको चिनी निर्यात पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण रहँदै आएको छ। सन् २०२१–२२ मा करिब १ करोड १० लाख टन पुगेको निर्यात त्यसपछि क्रमशः घट्दै २०२३–२४ मा १ लाख टनमा झरेको थियो। सन् २०२४–२५ मा भने करिब ९ लाख टनमा सुधार देखिएको छ।
तर बढ्दो उत्पादन अनिश्चितता र आपूर्ति जोखिमका कारण सरकारले फेरि निर्यात नियन्त्रण कडा बनाएको हो।



