३१ वैशाख,काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एनसेलको ललितपुरस्थित नक्खु कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ। स्मार्ट टेलिकमको उपकरण खरिदसम्बन्धी विवादास्पद प्रकरणमा अनुसन्धान अगाडि बढाउँदै टोलीले आवश्यक विवरण संकलन गरेको हो।
सीआईबीका अनुसार अनुसन्धानकै क्रममा कार्यालयमा पुगेको टोलीले सम्बन्धित व्यक्तिहरूबारे सोधपुछसमेत गरेको छ। उच्च सुरक्षा स्रोतका अनुसार सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको विषयमा विशेष रूपमा जानकारी मागिएको थियो।
यसअघि सोही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे सहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरिसकेको छ।
प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्ने प्रक्रियामा शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान अघि बढाइएको हो।
बैंकले धितो सकार्न बोलपत्र आह्वान गर्दा ट्रान्सगेट टेक प्रालि, प्रोफेसनल बिजनेस नेटवर्क प्रालि र एनसेल आजियाटा लिमिटेडले छुट्टाछुट्टै प्रस्ताव पेस गरेका थिए। तीमध्ये एनसेलले ४ अर्ब ६० करोड रुपैयाँको उच्चतम बोलपत्र पेस गरेको थियो, जुन बैंकले स्वीकार गरेको थियो।
पछि सोही टेलिकमका उपकरण एनसेललाई बिक्री गरिएको विषयमा प्रक्रिया तथा मूल्यांकन पारदर्शी नभएको भन्दै सीआईबीले खरिद–बिक्री दुवै पक्षमाथि अनुसन्धानलाई तीव्र पारेको छ।



