३१ बैशाख, काठमाडौं । इन्धन र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले देशभरका विकास निर्माणका कार्य ठप्प पार्दै आन्दोलन सुरु गरेको छ ।
महासंघले बिहीबार सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागमा धर्ना दिनुका साथै आफ्ना मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको हो । व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डा। सन्तोष कैनीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
निर्माण सामग्रीको मूल्य आकासिएका कारण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको व्यवसायीहरूको गुनासो छ । महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार बजार भाउ अनुसार ठेक्काको मूल्य समायोजन हुनुपर्ने र काम रोकिएका आयोजनाहरूको म्याद २०८४ असारसम्म थप गरिनुपर्ने उनीहरूको मुख्य माग छ । इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवा र बिटुमिन जस्ता सामग्रीको अभाव र मूल्यवृद्धिको चापले व्यवसायीहरू चरम सङ्कटमा परेको महासंघको ठहर छ ।
आन्दोलनकै बीचमा अनुसन्धानका नाममा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि महासंघले कडा आपत्ति जनाएको छ । महासचिव घिमिरेले सरकारले म्याद थप, बैंक ग्यारेन्टी र मूल्य समायोजनका विषयमा ठोस निर्णय नगरेसम्म काममा नफर्कने स्पष्ट पारे ।
महासंघले आजैदेखि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दबाब दिने गरी थप आन्दोलनका कार्यक्रमहरू तय गरेको छ । मूल्य समायोजन निर्देशिका तत्काल जारी नभए र सहुलियत नदिए विकास निर्माणका सबै काम अनिश्चितकालका लागि ठप्प हुने चेतावनी व्यवसायीहरूले दिएका छन् ।



