२९ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसदीय जवाफदेहिताबाट पन्छिएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सदनमा सांसदहरूले उठाएका गम्भीर प्रश्नहरूको सामना गर्न प्रधानमन्त्री डराएको टिप्पणी गर्नुभयो । सांसदका प्रश्नको उत्तर नदिनु भनेको प्रत्यक्ष रूपमा जनताको जिज्ञासा र आवाजलाई बेवास्ता गर्नु हो भन्दै उहाँले प्रधानमन्त्रीको मौनताप्रति प्रश्न उठाउनुभएको हो ।
प्रधानमन्त्रीको कार्यशैली र सदनप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठाउँदै साम्पाङले बालेन शाह जनताको जवाफ दिन नसक्ने अयोग्य प्रधानमन्त्री होरु भन्दै कटाक्ष गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सीमा क्षेत्रको सुरक्षादेखि सुकुम्वासी बस्तीहरूमा डोजर चलाइएको विषयसम्मका जल्दाबल्दा मुद्दाहरूमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ ।
सदनलाई सम्बोधन नगर्ने र जनप्रतिनिधिहरूले राखेका जिज्ञासाको उत्तर नदिने परिपाटीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उहाँले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन चुनौती दिनुभएको छ ।



