२९ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा जेनजी आन्दोलनका शहीद र घाइतेहरूको न्यायका लागि सरकारको कडा ध्यानाकर्षण गराउनुभएको छ ।
शून्य समयमा बोल्दै सांसद खतिवडाले वर्तमान राजनीतिक परिवर्तन र जनादेश जुन युवाहरूको रगतमा टेकेर आएको थियो, सरकारले त्यसलाई बिस्तारै बिर्सिँदै गएको भन्दै गम्भीर प्रश्न उठाउनुभयो । उहाँले आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि प्रहार गर्ने दोषीहरूलाई अहिलेसम्म कानुनी कठघरामा उभ्याउन नसकिएकोमा आक्रोश व्यक्त गर्नुभयो ।
‘ती दोषीहरूलाई हामीले कहिले सर्वसाधारण बस्ने जेलमा देख्न पाउँछौं? भन्दै प्रश्न गर्दै उहाँले शहीद परिवार र घाइतेहरूको घाउमा अझै न्यायको मल्हम लाग्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
यसका साथै, सांसद खतिवडाले न्याय प्रणालीमाथि समेत प्रश्न उठाउँदै हालको न्यायालय निकै ‘फोहोर’ भएको र यसको तत्काल शुद्धीकरण गर्नुपर्ने माग राख्नुभएको छ । उहाँको यस सम्बोधनले सदनमा मानव अधिकारको रक्षा र आन्दोलनका अपराधीहरूलाई कारबाही गर्ने विषयमा नयाँ बहस सिर्जना गरेको छ ।



