२९ बैशख, काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ प्रमुख दलका शीर्ष नेताहरूले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमालेका रामबहादुर थापा ‘बादल’ र नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
विशेषगरी पूर्वप्रधानमन्त्री प्रचण्डले निर्वाचित भएपछि पहिलो पटक विशेष समय माग गरी सम्बोधन गर्न लाग्नुभएको छ, जसमा सरकारले संसद् छलेर ल्याएको अध्यादेश र सुकुम्बासी बस्ती व्यवस्थापन जस्ता विषयमा खबरदारी गर्ने तयारी छ ।
यस्तै, श्रम संस्कृति पार्टीका हर्क बहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पनि बैठकलाई सम्बोधन गर्नेछन् भने सत्तारूढ रास्वपाबाट सभापति रवि लामिछाने वा उपनेतामध्ये कसले बोल्ने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफल र पछिल्ला राजनीतिक घटनाक्रमका बीच आजको शीर्ष नेताहरूको सम्बोधनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।



