२९ बैशख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा अस्वाभाविक र अव्यावहारिक अंकहरू राख्ने विगतको गलत परिपाटीलाई वर्तमान सरकारले सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले सरकारले साढे १९ खर्ब रुपैयाँभन्दा माथिको बजेट विनियोजन गरे तापनि वास्तविक खर्च गर्ने क्षमता १६ खर्ब रुपैयाँको हाराहारीमा मात्रै सीमित रहेको तथ्य सार्वजनिक गर्नुभयो ।
पुँजीगत खर्च २ खर्ब रुपैयाँको आसपास मात्रै हुने गरेको वर्तमान अवस्थाले देशको विकासका सपनाहरू पूरा हुन नसक्ने उल्लेख गर्दै अर्थमन्त्रीले अर्थतन्त्रको विस्तारका लागि निजी क्षेत्रको ठुलो लगानी आवश्यक रहेकोमा जोड दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तय गरिएको भए पनि राजस्वले करिब १३ खर्ब मात्रै धान्न सक्ने र बाँकी ७ खर्ब रुपैयाँको स्रोत जुटाउनु नै मुख्य चुनौती रहेको उहाँले स्वीकार गर्नुभयो ।
चालु आर्थिक वर्षको बाँकी अवधिमा पुँजीगत खर्च बढाउन सरकारले ‘इमर्जेन्सी मोड’ मा काम गरिरहेको र असार मसान्तसम्ममा इतिहासकै उच्च पुँजीगत खर्च हुने प्रक्षेपण समेत उहाँले गर्नुभएको छ ।



