२९ बैशाख, काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण मधेस प्रदेशसहित देशका अधिकांश भू-भागको मौसममा फेरबदल आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहानैदेखि देशका पहाडी भू-भागमा बादल लाग्ने क्रम सुरु भए पनि मधेस प्रदेशमा भने आंशिक बदलीको अवस्था छ। दिउँसो तराईका भू-भागमा आंशिक बादल लाग्ने र गर्मीको महसुस हुने देखिए पनि रातिदेखि भने मौसममा उल्लेख्य परिवर्तन आउने महाशाखाको प्रक्षेपण छ।
महाशाखाका अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ। विशेष गरी मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै तराईका कतिपय क्षेत्रमा हावाहुरी चल्ने जोखिम समेत रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ भने कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा दिउँसो मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपात हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।
मौसममा आएको यो बदलाबले मधेसका किसानहरूलाई केही राहत मिल्ने देखिए पनि चट्याङ्ग र मेघगर्जनको जोखिम रहने भएकाले खुला स्थानमा काम गर्दा वा यात्रा गर्दा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। तराई-मधेसका जिल्लाहरूमा राति हुने बदली र वर्षाले तापक्रममा केही गिरावट ल्याई शीतल गराउने अनुमान गरिएको छ।



