२८ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ ठगी प्रकरणमा आफ्नो संलग्नता रहेको भनी लगाइएको आरोप पुष्टि गर्न खुला चुनौती दिनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरिएको भन्दै कडा आक्रोश व्यक्त गर्नुभयो ।
आफू सुटुक्क स्वीट्जरल्याण्ड भागेको भन्ने चर्चालाई ‘निम्न स्तरको पत्रकारिताुको संज्ञा दिँदै उहाँले स्मार्ट टेलिकमको विषयमा आफूले कुनै पनि निकायमा एउटा पनि बैठक नगरेको र कुनै फाइल अघि नबढाएको दाबी गर्नुभयो। ‘यदि मैले स्मार्ट टेलिकम प्रकरणमा मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा मात्र पनि बैठक गरेको वा फाइल पारित गरेको प्रमाणित हुन्छ भने, म आजकै मितिदेखि आफ्नो सम्पूर्ण राजनीतिक जीवनबाट बिदा लिन तयार छु,’ सांसद खरेलले भन्नुभयो ।
आफ्नो व्यक्तिगत मान–प्रतिष्ठा र पार्टीको छविमा आँच पुर्याउने उद्देश्यले यस्ता समाचार आएको भन्दै उहाँले संसद्मा त्यसको घोर भर्त्सना गर्नुभयो । उहाँले आरोप लगाउनेहरूलाई प्रश्न गर्दै भन्नुभयो, ‘मैले त आरोप प्रमाणित भए राजनीति छाड्छु भनेँ, तर आरोप प्रमाणित गर्न नसके पत्रकारिता छाड्ने हिम्मत छ?’ सांसद खरेलले यस्ता भ्रामक प्रचारबाजीले संसद्कै अपमान गरेको भन्दै सत्यतथ्य छानबिनका लागि सदनको ध्यानाकर्षण समेत गराउनुभएको छ ।



