१९ वैशाख,काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आगजनीबाट क्षतिग्रस्त बनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। आगलागीपछि ध्वस्त भएका भौतिक संरचनाहरू पुनः निर्माण गरी रंगरोगनसमेत सम्पन्न भइसकेको छ भने मूल प्रवेशद्वार (गेट) पुनः निर्माण कार्य जारी रहेको छ।
हस्तकला शैलीमा निर्माण गरिएको पुरानो स्वरूपकै आधारमा नयाँ मूल गेट बनाइँदै गरिएको पार्टी स्रोतले जनाएको छ।
पुनर्निर्माणसँगै कार्यालय व्यवस्थापनमा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ। कर्मचारीहरूका लागि अण्डरग्राउण्डमा कार्यकक्ष निर्माण गरिएको छ भने नेताहरूका कार्यकक्षहरू पुनः वितरण गरिएको छ। पूर्व सभापति शेरबहादुर देउवाले प्रयोग गर्दै आएको कोठालाई हालका सभापति गगन थापाको कार्यकक्षका रूपमा प्रयोग गरिएको छ।
त्यसैगरी उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री हुँदा प्रयोग गरेको कोठा नै आफ्नो कार्यकक्ष बनाएका छन् भने महामन्त्री प्रदीप पौडेलले गगन थापा महामन्त्री हुँदा प्रयोग गरेको कोठा उपयोग गरिरहेका छन्। आठ सहमहामन्त्रीमध्ये छ जनालाई पहिलो तलामा कार्यकक्ष दिइएको छ।
केन्द्रीय समिति बैठकका लागि तेस्रो तलामा थप संरचना निर्माण भइरहेको छ। हाल बैठक बस्ने हललाई भविष्यमा २२५ भन्दा बढी कुर्सी राख्न मिल्ने कार्यक्रम हलका रूपमा रूपान्तरण गरिने योजना छ।
नेता डा. शेखर कोइरालाका लागि पहिले तय गरिएको कोठालाई डबली (कार्यक्रम स्थल) का रूपमा परिवर्तन गरिएको छ।
पुनर्निर्माण समितिको नेतृत्व नेता उमेश श्रेष्ठले गरेका थिए। उनको नेतृत्वमा भवन पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। उनका अनुसार अबको करिब डेढ महिनाभित्र केन्द्रीय समिति हलसहित सम्पूर्ण संरचना पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
पार्टी कार्यालय पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत पार्टी संरचना, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहयोगबाट जुटाइएको हो।
त्यसैगरी, नयाँ व्यवस्थापनसँगै आइटी टिमलाई सशक्त बनाइएको छ। पार्टीको वेबसाइट तथा फेसबुक पेजलाई परिष्कृत गर्दै नियमित अपडेट गर्ने व्यवस्था मिलाइएको छ। सदनमा कांग्रेस सांसदहरूले राखेका धारणा समेत सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने अभ्यास सुरु गरिएको छ।
आगलागीमा पूर्ण रूपमा क्षति पुगेको पुस्तकालय पुनः सञ्चालन गर्ने तयारी पनि भइरहेको पार्टीले जनाएको छ। उक्त पुस्तकालय निर्माणमा करिब ७० लाख रुपैयाँ खर्च भएको थियो।



