काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ । वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग जोडिएको इन्द्रजात्रा हिन्दु तथा बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो ।
जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राका मुख्य विशेषता हुन् । मूलतः वर्षा, सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो ।
वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दु तथा बौद्ध दुवै धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । पौराणिक मान्यताअनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान् विष्णुसँग सहायता मागेका थिए ।
त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका रूपमा ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ । त्यसयता इन्द्रध्वज पूजालाई समृद्धि, शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आएको छ ।
