१९ वैशाख,काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना नागरिकलाई आर्थिक तथा सांस्कृतिक मोर्चामा पनि सक्रिय हुन आह्वान गरेका छन्। उनले लिखित वक्तव्य जारी गर्दै देश अब आर्थिक ‘लडाइँ’मा केन्द्रित हुनुपर्ने बताएका हुन्।
वक्तव्यमा खामेनीले इरानले सैन्य टकरावमा आफ्नो “अद्वितीय शक्ति” विश्वसामु प्रदर्शन गरिसकेको उल्लेख गर्दै अब आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि त्यस्तै दृढता आवश्यक रहेको बताएका छन्।
उनले भनेका छन्, “इरानले सैन्य टकरावमा विश्वसामु आफ्नो अद्वितीय शक्ति प्रदर्शन गरेको छ; अब यसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि आफ्ना शत्रुहरूलाई पराजित गर्नुपर्छ।”
खामेनीले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिन र कामदारहरूलाई समर्थन गर्न पनि आग्रह गरेका छन्। साथै, आर्थिक कठिनाइ भोगिरहेका व्यवसायीहरूलाई मद्दत गर्न र कर्मचारी कटौती नगर्न निर्देशनसमेत दिएका छन्।
सर्वोच्च नेता बनेदेखि मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिए पनि उनी नियमित रूपमा लिखित वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्।



