वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो ।
गत वर्षको नौ महिनाको तुलनामा यस वर्ष १६ अर्ब २० करोड रुपैयाँ बढी राजस्व उठाउन कार्यालय सफल भएको छ । यद्यपि, भन्सार विभागले सो अवधिमा निर्धारण गरेको १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको लक्ष्यको तुलनामा भने कार्यालयले ८९ प्रतिशत मात्रै प्रगति हासिल गर्न सकेको छ ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको सुरुआतदेखि नै राजस्व संकलनको लय सन्तोष जनक देखिएको छ। साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यस्तै, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । तथ्याङ्कले महिनापिच्छे राजस्व संकलनमा केही उतारचढाव देखिए पनि चैत महिनामा हालसम्मकै सबैभन्दा बढी राजस्व संकलन भएको छ ।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई चालु आर्थिक वर्षका लागि कुल २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । नौ महिनाको अवधिमा सो लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व संकलन हुन सकेको छ ।
लक्ष्यको तुलनामा अझै राजस्वको खाडल बाँकी रहे पनि आर्थिक वर्ष समाप्त हुन अझै तीन महिना बाँकी रहेकाले थप राजस्व संकलन भई वार्षिक लक्ष्य पूरा हुने सम्भावना कायमै रहेको कार्यालयले जनाएको छ।



