७ वैशाख, काठमाडौँ । आज वैशाख शुक्ल तृतीया। हिन्दू परम्परामा अत्यन्तै शुभ र पवित्र तिथिका रूपमा लिइने ‘अक्षय तृतीया’ पर्व मुलुकभर हर्षोल्लासका साथ मनाइँदै छ। उष्ण गर्मीको मौसममा शरीरलाई शीतलता प्रदान गर्ने आहारका रूपमा जौको सातु र सर्वत सेवन गर्दै आजको दिनलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार, आजकै दिनदेखि त्रेता युगको आरम्भ भएको विश्वास गरिन्छ। पौराणिक मान्यताअनुसार भगवान विष्णुका दश अवतारमध्ये एक, आठ चिरञ्जीवीमध्येका परशुराम अवतारको जन्म पनि आजकै दिन भएको थियो, त्यसैले यसलाई ‘परशुराम जयन्ती’का रूपमा पनि मनाइन्छ। साथै, आजकै दिन भगवान शिव र पार्वतीको विवाह भएको मानिन्छ। यसर्थ, आजको दिन गरिने स्नान, दान, जप र शुभ कर्मको फल अक्षय (कहिले नाश नहुने) हुने शास्त्रीय मान्यता छ।
ज्योतिषशास्त्रका दृष्टिले अक्षय तृतीयालाई ‘स्वयंसिद्ध मुहूर्त’ मानिन्छ। यस दिन सूर्य र चन्द्रमा दुवै उच्च राशिमा रहन्छन्, जसले गर्दा यो तिथिलाई अत्यन्तै शुभ मानिएको छ। शास्त्रअनुसार यस दिन पञ्चाङ्ग (साइत) हेर्नै नपर्ने बताइन्छ। विवाह, गृहप्रवेश, नयाँ व्यवसायको थालनी, सवारी साधन तथा सुन खरिद, भूमि पूजा र पदभार ग्रहणजस्ता शुभ कार्यका लागि यो दिन अति उत्तम मानिएको छ।
वैशाखको चर्को गर्मीमा शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्न जौको सातु र सर्वतको सेवन गर्नु यस पर्वको अर्को मुख्य विशेषता हो। आयुर्वेदका दृष्टिले पनि उष्ण मौसममा सातु र चिसो सर्वतले शरीरमा शीतलता प्रदान गर्नुका साथै पाचन प्रक्रियामा समेत सहयोग पुर्याउँछ। तसर्थ, परम्परागत आहारलाई आजको स्वास्थ्य सचेतनासँग जोडेर लिने गरिन्छ।
वैशाख महिनालाई भगवान विष्णुको महिनाका रूपमा लिइन्छ । तसर्थ, आजको दिन विष्णु भक्तिका लागि विशेष मानिन्छ। शास्त्रहरूमा उल्लेख भएअनुसार आजका दिन गरिएको दान र पुण्य कहिल्यै क्षय हुँदैन, त्यसैले यस तिथिलाई ‘दानधर्मका लागि अचुक काल’ भनिएको छ। आजका दिन गरिएका सत्कर्महरूले व्यक्तिलाई अनन्त पुण्य फल प्रदान गर्ने विश्वासका साथ देशभर दान-पुण्यका कार्यक्रमहरू आयोजना गरिन्छन् ।
मानव जीवनमा सुख, शान्ति र समृद्धिका लागि अक्षय तृतीयाको विशेष महत्त्व रहेकोले आजका दिन शुभ कार्यको थालनी गर्न चाहनेहरूका लागि यो वर्षकै सबैभन्दा उत्तम अवसर मानिएको छ ।



