७ बैशाख, काठमाडौँ । नेकपा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा नाटकीय फेरबदल आउने संकेत देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्वाचनमा बेहोरेको पराजयलाई लिएर उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक प्रभावशाली समूहले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको विशेष अभियान थालेको छ।
लामो समयदेखि अध्यक्ष ओलीका सारथिका रूपमा चिनिएका उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेलकै अगुवाइमा सुरु भएको यो मोर्चाबन्दीले एमाले वृत्तमा ठूलो हलचल पैदा गरिदिएको छ।
गत फागुन २१ को निर्वाचनमा पार्टीले पराजय भोग्दा पनि अध्यक्ष ओलीले नैतिकताका आधारमा पद छोड्न इन्कार गरेपछि उनीप्रति विश्वासपात्रहरूकै भरोसा टुटेको दाबी गरिएको छ। ओलीको कार्यशैलीले पार्टी विसर्जनतर्फ जान लागेको निष्कर्ष निकाल्दै पौडेल समूहले अब नेतृत्व विस्थापनको विकल्प नभएको रणनीति बनाएको छ।
आफूविरुद्ध आफ्नै गुटभित्र मोर्चाबन्दी कसिलो बन्दै गएको सूचना पाएपछि अध्यक्ष ओलीले त्यसलाई काउन्टर दिन ‘वाम एकता’को नयाँ कार्ड प्रयोग गरेको असन्तुष्ट पक्षको बुझाइ छ।
विशेषगरी नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने प्रस्ताव अघि सारेर ओलीले आफ्नो संकट टार्न खोजेको आरोप लागेको छ। वैशाख ३ गते नेकपा संयोजक प्रचण्डले शिक्षण अस्पताल पुगेर ओलीसँग गरेको भेट र त्यसपछि सुरु भएको एकताको चर्चालाई पौडेल पक्षले नेतृत्व सुरक्षित गर्ने रणनीतिका रूपमा लिएको छ।
उपाध्यक्ष पौडेलले सार्वजनिक रूपमै निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनलाई छोडेर ‘असान्दर्भिक’ वाम एकताको चर्चा चलाइएको भन्दै प्रश्न उठाएका छन्। उनले अहिले देशभरका जिल्ला र वडा तहसम्मै छुट्टै सम्पर्क सञ्जाल विस्तार गरी पार्टी रूपान्तरणको सन्देश पठाउन थालेका छन्। यो अभियानमा उनलाई ११औँ महाधिवेशनमा फरक प्यानलबाट चुनाव लडेका नेता सुरेन्द्र पाण्डेसहितका प्रभावशाली नेताहरूको समेत साथ रहेको बताइएको छ।
यता ओली पक्षधर नेताहरूले भने यसलाई अनावश्यक हल्लाको संज्ञा दिएका छन्। ओलीका निकट मानिने सचिव महेश बस्नेतले बिरामी भेट्न गएको विषयलाई राजनीतिकरण गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले एमाले र नेकपाबीचको एकता राष्ट्रिय हितका लागि हुनसक्ने स्वीकार गरे पनि आफ्नै पार्टीका नेताहरूले अनावश्यक टीकाटिप्पणी गरेकोमा अचम्म व्यक्त गरेका छन्।
पार्टीभित्रको यो विवादमा उपमहासचिव लेखराज भट्टले पनि अध्यक्ष हटाउन गृहकार्य भइरहेको स्वीकार गर्दै निर्वाचनको हारमा अध्यक्ष मात्र नभई अन्य पदाधिकारीको जिम्मेवारी पनि निर्क्यौल हुनुपर्ने बताएका छन्। अर्का सचिव भानुभक्त ढकालले भने पार्टीभित्र समानान्तर गतिविधि स्वीकार्य नहुने भन्दै असन्तुष्ट नेताहरू तरङ्गमा बहकिएको टिप्पणी गरेका छन्।
ओलीले नेकपासँग एकता गरेर आफ्नो पद सुरक्षित गर्ने तयारी गरिरहँदा पौडेल समूहले भने त्यो एकताअघि नै नेतृत्व आफ्नो हातमा लिने गरी जिल्ला तहसम्मै समानान्तर अभ्यास सुरु गरेको छ। यसले एमालेभित्र आगामी दिनमा वैचारिक भन्दा पनि नेतृत्व हत्याउने शक्ति संघर्ष झन् तीव्र हुने देखिएको छ।



