चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुनस् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् ।
यस क्षेत्रमा जम्मा ८७ हजार २८ मत गणना भएको थियो । लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेललाई ३९ हजार ८३८ मतान्तरले पछि पारेका हुन्। खरेलले १४ हजार ५६४ मत मात्र पाएकी छिन् ।
यसअघि २०७९ को आम निर्वाचनमा लामिछाने यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरले विजयी भएका थिए । नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले मतान्तर अझै बढाएर ४२ हजार ९६२ पुर्याएका थिए ।
यसपटकको निर्वाचनमा पनि लामिछानेले आफ्नो लोकप्रियता कायम राख्दै फराकिलो जित निकालेका हुन् । निर्वाचन परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन् ।
लामिछानेले अघिल्ला निर्वाचनहरूमा क्रमशः ४९ हजार ३०० र ५४ हजार १७६ मत पाएका थिए। यसपटक ५४ हजार ४०२ मत ल्याएर उनले चितवनमा ‘ह्याट्रिक’ पूरा गरेका छन् ।
कांग्रेस र एमालेका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि लामिछानेको मत झण्डै चार गुणा बढी देखिएको छ। अहिले चितवनमा रास्वपाका कार्यकर्ताहरूले विशाल विजय र्यालीको तयारी गरिरहेका छन् ।



