पर्सा । जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव खलल पुर्याउने, धार्मिक तथा सांस्कृतिक द्वेष फैलाउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
कार्यालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल (Facebook, TikTok, Instagram लगायत) मार्फत जात, जाति, धर्म, सम्प्रदाय वा समुदायको धार्मिक भावना आहत हुने किसिमका सामग्री प्रकाशन, प्रसारण वा शेयर गर्ने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको जनाएको छ।
यस्ता गतिविधिले राष्ट्रिय एकता कमजोर बनाउने र समाजमा अशान्ति फैलाउने खतरा रहेकाले गम्भीरतापूर्वक कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। सूचनाअनुसार मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत धार्मिक स्थल वा पवित्र स्थानमा क्षति पुर्याउने, धार्मिक आस्था वा भावनामाथि आघात पुर्याउने कार्य गरेमा कैद तथा जरिवानाको व्यवस्था रहेको छ।
त्यस्तै, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम विद्युतीय माध्यमबाट गैरकानुनी, आपत्तिजनक, द्वेषपूर्ण वा सामाजिक सद्भाव बिगार्ने सामग्री प्रकाशन तथा प्रसारण गर्नेलाई पनि कडा सजाय हुने उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन तथा कसैले त्यस्तो कार्य गरेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन सबै नागरिकलाई आग्रह गरेको छ। कानूनको पालना गरी सामाजिक सद्भाव, शान्ति र सुव्यवस्था कायम राख्न सबैको सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ।

