पर्सा । यस वर्ष शीतलहर तथा जाडोको प्रभाव तीव्र बन्दै गएको छ। जिल्लाका सबै क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको हुँदा यसले जनजीवनमा प्रत्यक्ष असर पार्न थालेको छ।
विशेषगरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरीब तथा पिछडिएको समुदाय बढी जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले एक बिज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
शीतलहरका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सबै जिल्लाबासीलाई आवश्यक सावधानी अपनाउन बिज्ञप्तिमा अनुरोध गरिएको छ। चिसोबाट जोगिन न्यानो कपडाको प्रयोग गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन र शरीरका सबै भाग ढाक्ने गरी बाक्ला तथा सफा लुगा लगाउन भनिएको छ।
सुत्दा न्यानो सिरक, कम्बल प्रयोग गरी छाती र टाउको अनिवार्य रूपमा ढाक्न पनि सुझाव दिइएको छ। चिसोको समयमा आगो तापेर वा विद्युतीय उपकरणको सहायताले शरीर न्यानो राख्न सकिने भए पनि कोठाभित्र आगो बाल्दा वा हिटर प्रयोग गर्दा झ्यालढोका खुला राखी पर्याप्त अक्सिजनको आवतजावत सुनिश्चित गर्नुपर्नेमा बिज्ञप्तिमा जोड दिइएको छ।
सुत्नु अघि आगो निभाउने र विद्युतीय उपकरण बन्द गर्न पनि आग्रह गरिएको छ। स्वास्थ्यका दृष्टिले बेलाबेलामा तातो पानी तथा पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिन भनिएको छ।
ज्वरो, झाडापखाला, दम बढ्ने, खोकी, घ्यारघ्यार हुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।यसैगरी, चिसो मौसममा पशुपन्छीलाई पनि विशेष हेरचाह आवश्यक रहेको जनाइएको छ।
घरेलु पशुपन्छीलाई खुला स्थानमा नराखी गोठभित्र राख्न, पर्याप्त घाँस, पराल र दाना दिन तथा गोठलाई सफा र न्यानो बनाउन सुझाइएको छ। पशुपन्छी बिरामी भएमा नजिकको पशु चिकित्सालय वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
यातायात सुरक्षातर्फ ध्यान दिँदै हुस्सु वा कुहिरो लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित गर्न, फग लाइट अनिवार्य रूपमा बाल्न र आवश्यक परे हेडलाइट तथा हर्न प्रयोग गर्न सुझाव दिइएको छ। चिसो वा भिजेको कपडा नलगाउन पनि सबैलाई सचेत गराइएको छ।
शीतलहरको जोखिम अझै केही दिन कायम रहन सक्ने अनुमान गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सा ले सबै नागरिकलाई सावधानी अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

