नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतलाई सर्कुलर गरेको छ ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न जेनजी युवा अनिवार्य सिफारिस गर्नुपर्ने मापदण्ड बनाएको छ ।
सर्कुलरमा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा पाँच जनालाई प्रत्यक्षतर्फ सिफारिस गर्न भनिएको छ ।
‘सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने,’ प्रत्यक्षतर्फको मापदण्डमाबारे सर्कुलरमा लेखिएको छ, ‘सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।’
नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्दा कम्तिमा दुई महिलाको नाम पठाउनुपर्ने मापदण्ड बनाएको छ ।
‘एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तिमा दुई महिलासहित चार जना सिफारिस गर्ने,’ सर्कुलरमा भनिएको छ, ‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।’
सर्कुलरमा सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिहरूले दुई महिला र दुई पुरूषका दरले चार–चार जना सिफारिस गर्नुपर्ने उल्लेख छ ।
‘संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेशी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने,’ समानुपातिक उम्मेदवार सिफारिसबारे भनिएको छ, ‘शहीद परिवार, वेपत्ता परिवार, द्वन्द्व(पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।’



