काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित हुनुभएको छ । बुधबार राष्ट्रियसभा बैठकमा भएको मतबिभाजनका क्रममा कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै एमालेकी घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १६ मत परेको थियो । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बहुमत सदस्यहरुले मत दिएकाले घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् प्रस्ताव पारित भएको घोषणा गर्नुभयो । अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।
उक्त पदमा कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा निर्वाचन भएको हो ।



