काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि हिजो दुई जनाको उम्मेदवारी दर्ता भएको छ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको आज बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । राष्ट्रियसभाको आजको बैठक दिउँसो सवा एक बजे शुरु हुनेछ ।
सत्ता गठबन्धनबाट एमाले र विपक्षी नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो । एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी हुनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट हुनुहुन्छ ।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि रिक्त पदमा आज चुनाव हुन लागेको हो । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा ९एकीकृत समाजवादी०का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य छन् । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुनेछ ।



