काठमाडौं । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ।
बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन्। मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरू नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ।
घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए । ‘काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,’ उनले भने, ‘उनीहरूको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।’ दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले जानकारी दिए ।
गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत स्टेट डिजास्टर रेस्पोन्स टिमुसमेत खटिएको सब(इन्सपेक्टर अन्सारीले बताए ।



