काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी बेलुका ५ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने कार्यसूची छ । रिक्त रहेको प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क) मा आउँदो वैशाख १५ मा उपचुनाव हुँदैछ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जना गरी कुल ३२ जनाले गएको शनिवार उम्मेदवारी दर्ता गराएका थिए । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम–२ मा उपचुनाव हुन लागेको हो ।
उपचुनावका लागि इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झण्डै एक लाख १५ हजार ८ सय मतदाता छन् । त्यस्तै बझाङ प्रदेशसभा–१ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । त्यहाँ ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।



