वीरगञ्ज । विश्वका सबैभन्दा बढी प्रदूषित सहरमा काठमाडौं तीन नम्बरमा परेको छ । विश्वका प्रमुख सहरहरूको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै तेस्रो सहरमा काठमाडौं पुगेको हो ।
यसअघि पनि काठमाडौं विश्वको प्रदूषित सहरको पहिलो सूचीमा पुगेको थियो । यतिखेर विश्वकै प्रदूषित सहरको पहिलो भारतको नयाँ दिल्ली रहेको छ भने दोस्रो थाइल्यान्ड रहेको छ । चौथोमा मलेसियाको कोलाम्पुर सहर रहेको छ । पाँचौँमा बङ्गलादेशको राजधानी ढाका रहेको छ ।
काठमाडौंमा प्रदूषणका बढ्न थालेसँगै सर्वसाधारणहरूले आँखा पोलेको महसुस गरेका छन् । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबार वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आइक्यु एअरका अनुसार काठमाडौंको वायुमण्डलमा सोमबार एअर क्वालिटी इन्डेक्स (एक्युआई) दुई सय ७२ भन्दा माथि पुगेको छ ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार यतिखेर काठमाडौंको भैँसेपाटी क्षेत्रमा अत्यधिक प्रदूषण रहेको देखिएको छ । हाल यस क्षेत्रको एक्यूआई अहिले २७१ रहेको छ । रत्नपार्कको १७२, शंखपार्कको १६८,भक्तपुरको १०८ खुमलटारको १४५ रहेको छ ।
वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरूले आग्रह गरेका छन् । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञहरूले बताउँदै आएका छन् ।
