बीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण पर्सा र राजस्व अनुसन्धान कार्यालय बारा पथलैया को संयुक्त टोलीले बीरगंज–८ माईस्थानस्थित एक घरबाट ठूलो परिमाणमा सुन, चाँदी र नगद बरामद गरेको छ।
मिति २०८२ साल असोज २७ गते विशेष सूचनाका आधारमा संयुक्त टोलीले अभिषेक सर्राफको घरमा छापा मार्दा अबैध रुपमा भन्सार छलि ल्याई गोदाममा लुकाइराखिएको सुन–चाँदी फेला परेको हो।
सुन चाँदी व्यवसायी संघ पर्सामा मापन गर्दा सुन २,२५४.८६ ग्राम, चाँदी १०,३५४.०७ ग्राम, सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम, साथै नगद नेपाली रुपैयाँ १,०९,००० र भारतीय रुपैयाँ ४१,०६० बराबरको रकम समेत बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।
बरामद गरिएको सम्पूर्ण सामग्री आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।
