काठमाडौं । हिजो र अस्तिको वर्षा र डुबानले विस्थापित भएका मधेशका बाढी पीडित घर फर्किन सकेका छैनन् । रौतहटको बागमती र लालबकैया नदीको जलस्तर घटे पनि विस्थापित परिवारहरु घर फर्किने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बाढी र डुबान प्रभावित क्षेत्रमा अझै हिलो र पानी जमेका कारण विस्थापितहरुलाई घर फर्किन समस्या रहेको प्रहरीको भनाइ छ । उनीहरु मन्दिर, बिद्यालय, छरछिमेक र आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । मधेश प्रदेशका आठ वटा जिल्लामध्ये रौतहटमा सबैभन्दा बढी तीन हजारभन्दा धेरै परिवार विस्थापित भएका छन् ।
मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकका अनुसार रौतहटमा तीन हजार दुई सय ४०, महोत्तरीमा सात सय १५, सिराहामा ५७, पर्सामा १८, धनुषामा १७, सप्तरीमा ७ र बारामा ६ परिवार विस्थापित भएका छन् ।हिजो र अस्तिको वर्षाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरैजसो बस्ती डुबानमा परेका छन् ।
