भदौ १२, वीरगंज । चाडपर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई शुभकामना ज्ञापन गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
विजयादशमी, दीपावली र छठ जस्ता महान पर्वहरूमा जिल्लावासीले आपसी सद्भाव, सौहार्द र शान्तिपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा चाडपर्वमा भीडभाड हुने स्थानहरूमा सुरक्षित तरिकाले पूजा–अर्चना, मेलामहोत्सव र अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न अनुरोध गरिएको छ।
प्रशासनले विस्फोटक पदार्थ, मादक पदार्थ सेवन, ध्वनि प्रदूषण, सवारीसाधनमा डि.जे. प्रयोग, सडकमा अवरोध पुर्याउने कार्य नगर्न सबैलाई सचेत गराएको छ। त्यस्तै भीडभाड हुने स्थानमा चोरी–डकैती जस्ता आपराधिक घटनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैगरी वीरगंज बजार क्षेत्रमा देखिने झाडापखाला, हैजा लगायतका महामारीजन्य रोगको जोखिमलाई मध्यनजर गर्दै खानेकुरा पकाउँदा सरसफाइमा ध्यान दिन, दूषित पानी नखान, सुरक्षित खानेपानी मात्र प्रयोग गर्न तथा खाद्यवस्तुमा विशेष ध्यान दिन प्रशासनले चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई उल्लासमय, सुरक्षित र शान्तिपूर्ण बनाउन सबैलाई संयमता र सतर्कता अपनाउन आह्वान गरेको छ।
