जेन-जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते घाइते भएका व्यक्तिहरूको सहज र प्रभावकारी उपचारको लागि नारायणी अस्पतालमा छुट्टै क्लिनिक संचालन गरिएको छ।
नारायणी अस्पतालमै कार्यरत डा. दिपक कुमार चौरसियाको नेतृत्वमा सुरु गरिएको उक्त क्लिनिकमा आन्दोलनमा परी घाइते भएका युवाहरूको उपचार सहज बनाउन व्यवस्था गरिएको अस्पतालले जनाएको छ। साथै आवश्यकतानुसार एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको छ।
देशको राजधानी काठमाडौंसहित देशभर एकैसाथ भएको आन्दोलनमा घाइते भएका अधिकांश जेन-जी पुस्ताका युवाहरूलाई देशका कर्णधारका रूपमा सम्मान गर्दै, आन्दोलनका क्रममा मृत्यु प्राप्त गरेका प्रति आत्माको शान्तिको कामना गरिएको छ।
डा. दिपक कुमार चौरसियाले आन्दोलनमा घाइते भएकाहरूको उपचारमा अस्पताल पूर्ण रूपमा प्रतिबद्ध रहेको र सबैलाई समयमै स्वास्थ्य सेवा पुर्याउन विशेष पहल भइरहेको जानकारी दिनुभयो।



