काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबिच भिडन्त हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको १७ औँ संस्करणमा साविक विजेता चेन्नई र हैदराबाद दुवैको यो चौथो खेल हो । यसअघि खेलिएको तीन खेलमा चेन्नईले दुई जित हात पारेको छ । एक खेलमा भने चेन्नई पराजित भएको छ । चेन्नई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।
हैदराबादले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । दुई खेलमा हैदराबाद पराजित भएको थियो । हैदराबाद दुई अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो ।
चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हैदराबादले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि जित्न सकेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि हात पारेको थियो ।



