रौतहट । जिल्लामा सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले शुक्रबार सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी हुने जानकारी दिएका छन् । प्रशासनले अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको दुई घण्टा समय छुट्याएको छ ।
निषेधाज्ञा तथा कर्फ्युको अवधिमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने, जुलुस, सभा, प्रदर्शन, बैठक आयोजना नगर्न चेतावनी दिइएको छ। त्यस्तै पोष्टर–पर्चा टाँस्ने वा लेख्ने, शान्ति–सुरक्षा र सार्वजनिक व्यवस्थामा असर पार्ने कुनै पनि गतिविधि पूर्णतः निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ। स्थानीय प्रशासनले जनतालाई संयमित रहन र शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आह्वान गरेको छ ।



