काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन भित्रिएको दुई महिनाको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम पानी परेको जनाएको छ ।
मनसुन असारको दोस्रो हप्ता केही सक्रिय रहे पनि त्यसयता भने देशैभर सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ छ । उहाँका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट ४३ जनाको ज्यान गएको छ ।
गएको वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटना पनि कम भएका छन भने मानवीय र भौतिक क्षति पनि कम भएको प्राधिकरणले जनाएको छ । यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।
मधेशमा धान रोपाइँ र बालीनाली लगाउनुपर्ने बेला भएकाले जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेश प्रदेश सरकारले प्रदेशलाई गएको असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने सङ्घीय सरकारले साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेश केन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ ।
तीनै तहका सरकार र विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा दीर्घकालीन पिउने पानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।



