वीरगञ्ज । वीरगञ्जको पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर एक जना बेसहारा पुरुषको मंगलबार उद्धार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाले सडकमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षका पुरुषलाई उद्धार गरेको हो ।
उद्धार कार्य मंगलबार दिउँसो करिब १२ः४५ बजे भएको थियो । उद्धार टोलीमा मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी वरिष्ठ हवल्दार दिनेश यादव सहभागी थिए ।
मानसिक अवस्था कमजोर भएका कारण ती पुरुषले आफ्नो नाम र ठेगाना खुलाउन सकेनन् । उद्धारपछि उनलाई मानव सेवा आश्रमको वीरगञ्ज शाखामा लगिएको छ, जहाँ उनलाई नुहाइधुवाइ र सरसफाइ गराइएको छ ।
मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार, उद्धार गरिएका पुरुषको अब मनोरोग विशेषज्ञ डा। भरत गोइतको निगरानीमा औषधोपचार गरिनेछ। आश्रमले यस्ता बेवारिसे अवस्थाका मानसिक रोगीको उद्धार गर्दै उपचार र संरक्षण गर्दै आएको छ।
स्थानीय तह, प्रहरी प्रशासन, सामाजिक अभियन्ता र मानव सेवा आश्रमको समन्वयमा भएको यस उद्धारले समाजमा मानवीय संवेदना र सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।
