काठमाडौं । इजरायलमा रहेका नेपाली समुदायले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइको माग गर्दै आइतबार इजरायलको तेल अविभस्थित किडन्याप स्क्वायरमा प्रदर्शन गरेका छन्।
“विपिनलाई घर फर्काउनुपर्छ”, “सबै बन्धकको सुरक्षित रिहाइ होस्” जस्ता नारासहित नेपालीहरू पोस्टर, राष्ट्रिय झन्डा र विपिनको तस्बिर बोकेर र्यालीमा उत्रिएका थिए । र्यालीमा नेपाली समुदायका प्रतिनिधिसहित इजरायली नागरिकहरूको समेत उल्लेख्य सहभागिता थियो। आयोजकका अनुसार र्यालीमा ५० हजारभन्दा बढीको उपस्थिति रहेको थियो।
२३ वर्षीय विपिन जोशी कृषि अध्ययनका लागि २०२३ को सेप्टेम्बर महिनामा इजरायल पुगेका थिए । उनी दक्षिण इजरायलको एक किब्बुट्जमा विशेष शैक्षिक कार्यक्रममा सहभागी थिए । तर, ७ अक्टोबर २०२३ मा हमासले गरेको भीषण आक्रमणका क्रममा उनी बेपत्ता भए ।
उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित धेरै विदेशी श्रमिकहरू अपहरणमा परेका थिए । पछिपछि विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि भएको हो । प्रदर्शनमा सहभागीहरूले विपिन मात्र होइन, हमासको कब्जामा रहेका अरू ५० जना बन्धकहरूको पनि सुरक्षित र शीघ्र रिहाइको माग गरेका छन् ।



