सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१, लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् ।
बिहीबार ९आज० बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थित न्यूँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकले भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको बिजुलीको तार छोएको थियो । करेन्ट प्रवाहका कारण तीनै जना घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घाइतेहरूलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाएको थियो । अस्पतालमा उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
