जनकपुर । जनकपुरधाममा आफ्नै ससुराको चक्कु प्रहार गरेर हत्या गर्ने ज्वाइँ बेचन महासेठलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई मंगलबार खजुरी रेलवे स्टेशन नजिकैबाट पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेव प्रसाद साहको यही असार १८ गते हत्या भएको थियो । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कु र बेचन महासेठ चढेको स्कुटर (प्रदेश ०२–००७प ९९३२) पनि बरामद गरेको जनाएको छ ।
धनुषाका एसपी नरहरि रेग्मीका अनुसार घटना घरायसी र लेनदेन सम्बन्धी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतककी पत्नी शैलदेवी साहले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले महासेठलाई पक्राउ गरेको हो । पक्राउ परेका महासेठमाथि थप अनुसन्धान जारी रहेको छ ।
