वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य सडक (२५/२५ मिटर) फराकिलो बनाउने निर्णयसँगै वीरगञ्जमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । सडक विस्तारको क्रममा संरचना भत्काउन थालिएपछि स्थानीय घरधनी र व्यवसायीहरू आन्दोलित भएका छन् ।
शुक्रवार बिहानैदेखि वीरगञ्ज बजार आंशिक बन्द भएको छ भने घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले “व्यवसायीमाथि अन्याय नगर”, “हाम्रो व्यापार जोगाऊ” जस्ता नारासहित सडक जामसमेत गरेका छन् ।
विरोधको कारण र मागहरू
वीरगञ्ज बचाउ संघर्ष समिति र सडक पीडित व्यापारी संघर्ष समितिले संयुक्त रूपमा आन्दोलनको नेतृत्व गरिरहेका छन् । उनीहरूको आरोप छ—सडक विस्तारको नाममा कानुनी प्रक्रिया नअपनाई जबरजस्ती संरचना भत्काइएको छ ।
संघर्ष समितिका अध्यक्ष जवाहरप्रसाद गुप्ताले घरधनीहरूको जीवनभरको लगानी जोखिममा परेको भन्दै सबै घरमा कालो झन्डा राखेर विरोध जनाइरहेको जानकारी दिए ।
यसअघि स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका थिए ।
महानगरको भनाइ
महानगरका अनुसार त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको सडक चौडाइ बढाउने, ढल निकास सुधार गर्ने र ट्राफिक व्यवस्थापन सहज बनाउने दीर्घकालीन योजना छ ।
सर्वोच्च अदालतले फागुन २८ गते घरधनीहरूको रिट खारेज गरेपछि कानुनी प्रक्रिया पूरा गरी सडक विस्तार सुरु गरिएको हो । डोजर प्रयोग गरी सोमबार र मङ्गलवार भन्सार क्षेत्रबाट सुरु गरिएको काम हाल जिल्ला प्रशासनको समन्वयमा रोकिएको छ ।
