चितवन । चितवनको भरतपुर महानगरपालिकामा जङ्गली गैँडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेलाई बुधबार (१४ असोज) बिहान गैँडाले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे घरनजिकै मर्निङवाकमा निस्किएका घलेलाई राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीतिर पसेको जङ्गली गैँडाले एक्कासि आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घलेको छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले उद्धार गरी उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याएका थिए ।
हाल उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको र अवस्था गम्भीर तर स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नजिकै रहेका भरतपुरका पश्चिमी भेगहरूमा पछिल्लो समय गैँडा, पाटेबाघ र हात्ती जस्ता जङ्गली जनावरहरू बस्तीमा पस्ने क्रम बढेको छ ।
प्रातःकाल र साँझको समयमा वन्यजन्तुको ओहोरदोहोर बढी हुने भएकाले एक्लै आवतजावत नगर्न र आवश्यक सतर्कता अपनाउन निकुञ्ज प्रशासन तथा स्थानीय प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
