काठमाडौं । देशभर मनसुनी वायु सक्रिय बनेकाले मौसममा तीव्र परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ। आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगहरूमा बादल लाग्ने र केही ठाउँमा मेघगर्जनसहित वर्षा जारी रहनेछ।
महाशाखाले निरन्तर वर्षाले पहिरो, बाढी र सडक अबरुद्ध हुने जोखिम बढ्ने भएकाले पहाडी र बाढीप्रवण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासन तथा नागरिकहरूलाई आवश्यक सावधानीका उपाय अपनाउन पनि सुझाव दिइएको छ।



