एजेन्सी । भारतको गुजरात राज्यको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृतक संख्या बढ्दै गएको छ । हालसम्म उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट ५० जनाको शव निकालेका छन् ।
आगलागी नियन्त्रण र उद्धार कार्य अझै जारी रहेकोले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । उनीहरूले आगो नियन्त्रणमा ल्याउँदै घाइते र फसेका यात्रुहरूको उद्धारमा खटिएका छन् ।
लन्डनका लागि उडेको बोइङ विमानमा २४२ जना यात्रु सवार थिए, जसमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि थिए । विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको हो । दुर्घटनापछि अहमदाबाद विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।
अस्पताल जानुपर्ने बाटोमा अन्य सवारी साधन रोकिएको छ भने एम्बुलेन्स र दमकललाई मात्र प्रवेशको अनुमति दिइएको छ । यसअघि सन् १९८८ मा पनि यही विमानस्थलमा भएको एक दुर्घटनामा १३३ जनाले ज्यान गुमाएका थिए।
