काठमाडौं । काठमाडौं प्रहरीको संयुक्त टोलीले करिब २ करोड २ लाख रुपैयाँ बराबरका सुन, हिरा र बहुमूल्य पत्थरका गहना सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा भारतको कोलकात्तास्थित हरिबोर शेख , सुरोजित दास, तमोल साद्रा र १६ वर्षीय सामुहिम शेख छन् ।
उनीहरू काठमाडौंमा अवैध गहना कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्युखा कृष्णचोकमा हरिबोर शेखले सञ्चालन गरिरहेको ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ नामक पसलबाट बिना बिलका बहुमूल्य गरगहना फेला परेको हो ।
सोमबार साँझ साढे ८ बजे संयुक्त प्रहरी टोलीले पसलमा खानतलासी गर्दा ठूलो मात्रामा बिल नभएका सुन, हिरा र रत्नजडित गहनाहरू बरामद गरेका हुन् ।
बरामद गरिएका गहनाहरूमा नेक्लेस, लकेट, विभिन्न प्रकारका रिङ, कानको टप र बालि, ब्रासलेट, खुकुरी डिजाइनका गहना लगायत छन्, जसको कुल तौल सयौं ग्राम पुगेको छ । गहनाको अनुमानित मूल्य २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।
प्रहरीका अनुसार यस्ता बिना बिलका गहनाहरू अवैध रूपमा नेपाल भित्र्याइ व्यापार गरिँदै आएको सूचना पाएपछि निगरानी बढाइएको थियो ।
