वीरगञ्ज । पर्सा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै एकैदिन १९५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई सजाय सुनाइएपछि फरार रहेका उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका प्रतिवादीहरू सबै विभिन्न आपराधिक घटनामा संलग्न भई अदालतबाट जरिवाना वा कैद सजाय तोकिएकाहरू हुन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका निकायमार्फत गठन गरिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
“फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउनु हाम्रो प्राथमिकता हो,” डीएसपी लम्सालले भने, “विशेष सूचनाका आधारमा उनीहरूलाई फेला पारेर नियन्त्रणमा लिइएको हो ।” पक्राउ परेका सबै १९५ जनालाई आवश्यक कानुनी प्रक्रियाका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
