काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिनपछि सरेको छ। यसअघि असोज १६ गतेदेखि गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो । कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन्। कांग्रेसका अनुसार १५औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्।
केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ। देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको भन्दै महाधिवेशनको उद्घाटन मिति दुई दिन सारिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते गर्ने निर्णय गरिएको जनाएको छ।
