रौतहट । दुई वर्षदेखि ब्रेन ट्युमरसँग जुझिरहेका पत्रकार फणि महतको ४० वर्षको उमेरमा निधन भएको छ । उनका निकट जनका अनुसार महतले गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा अन्तिम सास लिए ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी महत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए । उनी चन्द्रपुर स्थित रेडियो सुप्रिमका सञ्चालक तथा अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता थिए । साथै, नेकपा एमाले निकट प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्षका रूपमा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।
ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए । तर, लामो प्रयासपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि अन्ततः उनले जीवनसँगको लडाइँ हार्नुपर्यो ।
उनको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल लगायत थुप्रै पत्रकार संगठन तथा संस्थाले गहिरो दुःख व्यक्त गरेका छन् । पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै महतको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।
उनीबारे प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले भने, “फणि साथी असल पत्रकार मात्र होइन, संगठन र समाजप्रति प्रतिबद्ध एक सच्चा व्यक्तित्व थिए । उनको निधनले हामीलाई स्तब्ध बनाएको छ ।” स्व. महतको पार्थिव शरीर आज अन्तिम श्रद्धाञ्जलिका लागि चन्द्रपुर पुर्याइने र त्यसपछि अन्त्येष्टि गरिने जनाइएको छ ।
