वीरगञ्ज । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २६४९ औं जन्मजयन्ती वीरगञ्जमा पनि धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ भव्य रूपमा मनाइएको छ । बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान प्रभातफेरी निकालिएसँगै भिस्वा डाँडास्थित बौद्ध स्तूपमा पुगेर सामूहिक पूजा, ध्यान र विश्व शान्तिका लागि विशेष प्रार्थना गरिएको हो ।
बौद्ध समिति वीरगञ्जको आयोजना तथा वीरगञ्ज जेसिज, गौतम मावि, माउन्ट मकालु स्कूल लगायत संघसंस्थाहरूको सहभागितामा प्रभातफेरी माईस्थान पार्कबाट सुरु भई घण्टाघर, लिंक रोड, बसपार्क हुँदै भिस्वा डाँडास्थित स्तूपमा समापन भएको थियो । स्तूप परिसरमा लामागुरुहरूको नेतृत्वमा विशेष पूजा, मन्त्रपाठ र ध्यान कार्यक्रम गरिएको थियो ।
सामूहिक प्रार्थना कार्यक्रममा बौद्ध समितिका अध्यक्ष डा. दीपक शाक्यको अध्यक्षता तथा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वीरगञ्ज जेसिज अध्यक्ष सरोज चौरसिया, बौद्ध समितिका सचिव सुन्दर श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी र स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता थियो ।
बुद्ध जयन्तीको अवसरमा साँझ वीरगञ्ज जेसिजले दीप प्रज्वलन कार्यक्रमको पनि आयोजना गर्ने जनाएको छ । अध्यक्ष चौरसिया का अनुसार, शान्तिको प्रतीकस्वरूप दीप प्रज्वलनले बुद्धको शिक्षालाई अझ सशक्त रूपमा समाजमा फैलाउने उद्देश्य लिएको छ ।
